पैसा असुल्ने १३ प्रहरी कारबाहीमा

31 Oct 2010

भैरहवा, कात्तिक १४-
राजमार्गमा भारतीय सवारी साधनबाट अवैधरुपमा पैसा असुल गर्ने लुम्बिनी अञ्चलका १३ जना प्रहरी कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमा सात ट्राफिक र छ जनपथ प्रहरीछन्। यसमध्ये पाँच प्रहरी हवल्दार र आठ जना प्रहरी जवान छन्। भारतीय सवारी साधनबाट उच्च तहका प्रहरी अधिकारीले पनि एकमुष्ठरुपमा पैसा लिने गरे पनि उनीहरु भने कारबाहीमा परेका छैनन्।
अञ्चल प्रहरी कार्यालय लुम्बिनीले भारतीय सवारी साधनमा बसेर नेपाल–भारत सीमा बेलहियाबाट नवलपरासीको गैँडाकोटसम्म गरेको स्थलगत निरीक्षणका क्रममा सवारी साधनबाट पैसा असुल गर्ने जति सबैको नामावली सङ्कलन गरी उनीहरुमाथि कारबाही अगाडि बढाएको हो।

उनीहरुमाथि अञ्चल प्रहरी कार्यालय लुम्बिनीले अनुसन्धान गरी क्षेत्रीय प्रहरी कार्यालय पोखरालाई कारबाहीका लागि सिफारिस गरेको छ।

कारबाही पर्नेमा प्रहरी हवल्दार जगतबहादुर सुनार-प्रहरी बिट देवकोटाचोक, खेमबहादुर बाह्रघरे इलाका प्रहरी कार्यालय नवलपुर, होमबहादुर छन्तेल वडा प्रहरी कार्यालय बुटवल, नारायण भण्डारी रामनगर चेकप्वाइन्ट र रामचन्द्र बस्ताकोटी अस्थायी ट्राफिक पोष्ट सुनवल छन्।

त्यस्तै प्रहरी जवानहरुमा अम्बरबहादुर दर्लामी प्रहरी विट बसपार्क भैरहवा, चन्द्रिका चन्द इलाका प्रहरी कार्यालय कावासोती, टीकाबहादुर बस्नेत, पिताम्बर पौडेल गैँडाकोट ट्राफिक, मधु जिसी, धनन्जय न्यौपाने वडा प्रहरी कार्यालय बुटवल इन्द्र न्यौपाने रामनगर चेकप्वाइन्ट र छवि चिदी मगर प्रहरी चौकी सुनवलमा कार्यरत छन्।

सडकमा ड्युटीका लागि तल्लो तहका कार्मचारी खटिने भएकाले सडकमा गरिएको निरीक्षणमा तल्लोतहका प्रहरी कर्मचारीमात्र कारबाहीमा तानिएको अञ्चल प्रहरी सूत्रले जनायो।

राजमार्गमा भारतीय सवारी साधनबाट अवैधरुपमा पैसा असुली हुने गरेको र त्यसबाट राजमार्गमा अपराध मौलाएको, उपभोग्य वस्तुको मूल्य वृद्धि हुने गरेको उजुरी परेपछि प्रहरी राजमार्गलाई अवरोध मुक्त बनाउने अभियानका क्रममा ती प्रहरीले पनि पैसा असुल गरेको पाइएपछि कारबाही गरिएको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अर्यालले बताए।
- रासस
READ MORE - पैसा असुल्ने १३ प्रहरी कारबाहीमा

लु १ ख ६६९४ नम्बरको माइक्रो बसभित्र विष्फोट

30 Oct 2010

बुटवल,कात्तिक ११/
सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा सडक खण्ड अन्तर्गत रूपन्देहीको ड्राइभरटोलमा गाडीभित्र राखिएको विष्फोटक पदार्थ विष्फोट हुँदा चारजना यात्रु घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भीर छ ।
भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६६९४ नम्बरको सिद्धार्थ यातायातको माइक्रो बसभित्र राखिएको विष्फोटक पदार्थ बुधबार अपरान्ह पौने पाँच बजेतिर एक्कासी विष्फोट हुँदा दुई महिला र दुई जना पुरूष घाइते भएका हुन् । विष्फोटक पदार्थ कसले र किन राख्यो भन्नेबारे खुल्न नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
घाइते हुनेमा पर्रोहा-५ रूपन्देहीका २७ वर्षीय शिव शर्मा, हेटौंडाका ५४ वर्षीय कुन्दन श्रेष्ठ, गजेडी-३ रूपन्देहीकी २० वर्षीय देउमाया भुजेल र बुटवल-१२ की २० वर्षीय सुनिता पौडेल रहेका छन् । घाइते मध्ये शर्मा र श्रेष्ठको टाउको र निधार तथा दर्ुइ महिलाको हातमा चोट लागेको छ ।
बम विष्फोटको तराई मधेश मुक्ति मोर्चाद्वारा जिम्मेवारी लिएको छ ।
READ MORE - लु १ ख ६६९४ नम्बरको माइक्रो बसभित्र विष्फोट

१९ पटक सगरमाथा चढेका आरोही हिमपहिरोमा वेपत्ता

24 Oct 2010

काठमाडौं, कात्तिक ७
सगरमाथा शिखरमा १९ पटक टेकिसकेका छेवाङ निमा शेर्पा अर्का एक आरोहीसहित हिमपहिरोमा बेपत्ता भएका छन्। उनी केवल सात हजार एक सय ३० मिटर अग्लो शिखर आरोहणका क्रममा शनिबारदेखि बेपत्ता भएका हुन्। सर्वोच्च शिखरमा सबैभन्दा बढी पाइला राख्ने आप्पा शेर्पा (२० पटक)लाई पछ्याउने निमा नै थिए।

४३ वर्षे निमा अर्का एक आरोहीका साथमा बेलायती आरोहण दलका निम्ति डोरी ओछ्याउँदा ओछ्याउँदै बरुन्से हिमालमै हिमपहिरोमा परेका थिए। उनी शिखरभन्दा केवल ८५ मिटर तल रहेको बेला यो दुर्घटना भएको शेर्पा सांग्रीला ट्रेक एण्ड एक्स्पीडिसनले आइतबार बताएको छ। आरोहण दलका अन्य सदस्यले त्यस क्षेत्रमा हिउँ खोतल्दा पनि फेला पार्न नसकेको जनाएका थिए। आरोहण दलका अन्य सदस्य सकुशल रहेको र उद्धारका निम्ति आइतबारै त्यसतर्फ हेलिकोप्टर पठाइएको एक्स्पीडिसनका जीवन घिमिरेले बताएका छन्।
(नागरिक)
READ MORE - १९ पटक सगरमाथा चढेका आरोही हिमपहिरोमा वेपत्ता

ससुराद्वारा ज्वाइँको हत्या

केपी ढुङ्गाना, काठमाडौं, कात्तिक ७-
ओमबहालको डेरामा हत्या गरिएका दिलबहादुर थापामगरको हत्यारा उनकै ससुरा भएको रहस्य प्रहरी अनुसन्धानबाट खुलेको छ। हत्या भएको ४ दिनपछि प्रहरी नियन्त्रणमा रहेका मगरका ससुराले हत्या आरोप स्वीकारेका हुन्। छोरीसँग प्रेम विवाह गरेका ज्वाइँ मन नपरेपछि हत्या गरेको उनले बताएका छन्।

कात्तिक ३ गते पेटमा धारिलो हतियारले घोचिएको, टाउको र घुडामा चोट लागेको अवस्थामा मगरको शब फेला पारेको थियो।
प्रहरीले पारिवारिक विवादका कारण उनको हत्या भएको शंका गरेर राई थरका ससुरा र श्रीमतीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको थियो।

मगरले राईकी छोरीसँग प्रेम विवाह गरेको र सुरुदेखि नै ज्वाइँ मन नपरेका कारण सहयोगी लिएर मगरको हत्या गरेको वयान ससुराले आइतबार प्रहरीलाई दिएका छन्।

हत्यारा खोज्न प्रहरी असफल
काठमाडौंमा जेठयता भएका आठ वटा हत्यामध्ये अझै ४ वटाको तथ्य खोल्न प्रहरी सफल हुन सकेको छैन। बौद्ध, स्वयम्भु, नयांबानेश्वर र महाराजगञ्ज क्षेत्रमा जेठयता पाँच महिला र दुई पुरुषको हत्या भएको थियो। यीमध्ये चारवटा घटनाका अभियुक्तहरु मात्र पक्राउ परेका छन्।

स्थानीय प्रहरी इकाई, महानगरिय प्रहरी परिसर र महानगरिय प्रहरी अपराध महाशाखाका अधिकारीहरु हत्याको अनुशन्धान जारी रहेको बताउँछन्। अनुशन्धानमा खटिएको प्रहरीले हत्याका आरोपीको पहिचान भएको दावी गरेपनि कोही पक्राउ परेका छैनन।

जेठ यता बौद्ध क्षेत्रमा तीन वटा हत्या भएका छन्। असोज १८ बेलुका जोरपाटी श्रृजनाचोकमा आफ्नै कोठामा सुतिरहेकी ७० वर्षिया बृद्धा सङ लामाको हत्या भएको थियो। छोराबुहारी काठमाडौं बाहिर गएका कारण उनी सात वर्षिया नातिनीसँगै बस्दै आएकी थिइन्। बालीकाको बयानको आधारमा मुखमा मास्क लगाएका २ जना ब्यक्तिले बृद्धाको हत्या गरेको खुलेपनि उनीहरुको पहिचान हुन सकेको छैन।

साउन २५ गते जोरपाटीमा खुकुरी प्रहार गरी हत्या गरेको अवस्थामा फेला परेकी २५ वर्षिया रविना विकको हत्या उनकै श्रीमान रामलाल विकले गरेको प्रहरीले दावी गरेपनि कोही पक्राउ नपरेका कारण हत्याको तथ्य खुल्न सकेको छैन।

कोठामा रामलालको नाममा रहेको 'हत्या मैले गरेको हुँ' भनेर लेखिएको पत्रको आधारमा प्रहरीले हत्यामा उनको संलग्नता रहेको दावी गरेपनि अक्षरको बैज्ञानीक पुष्टि हुन नसक्दा कोही पनि पक्राउ परेका छैनन्।

जोरपाटी क्षेत्रमै बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेकी पावर्ती राईको हत्या कसले गरेको हो खुल्न सकेको छैन। प्रहरीले साउन ६ गते उनको मृत शब फेला पारेपनि लास कुहिएको अवस्थामा रहेकाले २/३ दिन अगाडि नै उनको हत्या भएको प्रहरीले अनुमान गरेको थियो।

घटना लगत्तै पार्वतीको श्रीमान् शन्तोष तामाङ फरार रहेकाले प्रहरीले हत्यामा उनीनै संलग्न रहेको आशंका गरेपनि उनी पक्राउ नपरेकाले पुष्टी गर्न भने सकेको छैन।

बौद्ध बृत्तका प्रमुख गोविन्द परियार राई र विकको हत्यामा संलग्नको पहिचान खुलेको तर,लामाको हत्याको बारे अनुशन्धान जारी रहेको बताए। उनले हत्यामा संलग्न रहेका अभियुक्तहरुको पहिचान र पक्राउका लागी बृत्तले टोली गठन गरी परिचालन गरेको दावी गर्दै भने 'सबै घटनाको कारण खुलिसकेको छ, अभियुक्तको खोजीमा छौं।'

५६ वर्षिया रामदेवी सक्सेनाको हत्या कसले गरेको हो? पाँच महिनापछि पनि गुत्थी सुल्झाउन प्रहरी असफल छ। उनी जेठ २३ गते बसुन्धरा सिर्जनचोकस्थित घरको तेस्रो तल्लामा मृत अवस्थामा फेला परेकी थिईन। हातको नसा काटिएको र गलामा डाम भएको अवस्थामा शव फेला परेको सक्सेनाले आत्महत्या गरेकी हुन् या हत्या भन्ने निष्कर्षमा पुग्न प्रहरीले एक महिना लगाएको थियो।

एक महिनापछि सक्सेनाको हत्या नै भएको निष्कर्षमा पुगेको महानगरिय प्रहरी बृत्त महाराजगञ्जले उनको हत्यामा संलग्नहरुको पहिचान समेत गर्न सकेको छैन। मृतक सक्सेना र उनका श्रीमान् ओमप्रकाश सक्सेनाबीच अंश विवाद रहेको र दुवै हत्याको अभियोगमा जेल सजाय काटेर भर्खरै मुक्त भएको देखिएपछि सुरुमा प्रहरीले ओमप्रकाशलाई नियन्त्रणमा लिएको थियो। उनलाई हाजिर जमानीमा रिहा गरेपछि प्रहरीले अन्य कसैलाई पक्राउ गर्न सकेको छैन।
READ MORE - ससुराद्वारा ज्वाइँको हत्या

बुटवल का लक्ष्मन श्रेष्ठ को कोरया मा मृत्यु

11 Oct 2010


बुटवल नगर पालिका को कलिका नगर स्थाई घर भएका
लक्ष्मन श्रेष्ठ को शनि बार ९ तारिक दिन पोछनको संगुरी स्थित उरी हस्पिटल मा अकस्मात् मृत्यु
भएको छ हस्पिटल पुग्नु भएका रुपन्देही सम्पर्क समितिका अध्यक्ष श्री सुरेन्द्र बराल का अनुसार मृत्यु को कारण थाह हुन नसकेको ले पोस्ट मर्ट्मको रिपोर्ट भोली सम्म आउने छ र शुक्र बार सम्म लाश नेपाल पठाउने जानकारी दिनु भएको छ
बुटवल परिवार मृतक आत्मा को चिर सान्तिको कमाना गर्दै हार्दिक समबेदाना प्रकट गर्दछ
READ MORE - बुटवल का लक्ष्मन श्रेष्ठ को कोरया मा मृत्यु

तिलोत्तमाको १७ औं संस्करण कात्तिक ५ मा प्रतियोगितामा १२ टिम सहभागी

बुटवल,असोज २५/
काठमाडौं बाहिर सर्वाधिक धनराशी पुरस्कार भएको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको १७ औं संस्करण आगामी कात्तिक ५ गतेदेखि बुटवलमा हुने भएको छ ।
रूपन्देही फुटबल संघको आयोजनामा बुटवल-१३ देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको खेल मैदानमा प्रतियोगिता संचालन हुने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
प्रतियोगितामा रूपन्देही ११, सहारा क्लब पोखरा, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एपीएफ क्लब, एनआरटी क्लब, धरान फुटबल क्लब, जावलाखेल युथ क्लब, हिमालयन शेर्पा, एन्फा १९ र बंगलादेश फुटबल क्लब सहभागी हुने संघका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले एक लाख ५५ हजार पाँच सय ५५ रूपैयाँ नगदसहित गोल्डकप तथा दोस्रो हुनेले ७७ हजार ७ सय ७५ रूपैयाँ नगद तथा शिल्ड र प्रमाणपत्र पाउने छन् । यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक खेलाडीलाई पनि नगद पुरस्कारले पुरस्कृत गरिने संघका महासचिव जगदिश आचार्यले बताउनुभयो ।
READ MORE - तिलोत्तमाको १७ औं संस्करण कात्तिक ५ मा प्रतियोगितामा १२ टिम सहभागी